काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा छलफल चलिरहेको बताएको छ । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका हुन् ।
‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ,’ चन्दले भने, ‘के गर्ने भनेर हामी सरोकारवालासँग छलफल गर्दै छौं । बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
एकाथरिले थुनाबाट रिहा भएकाले उनलाई टिममा फर्काउनु पर्ने माग राखेका छन् भने अर्कोतर्फ बलात्कारको आरोप कायमै रहेकाले टिममा फर्काउन नहुने आवाज पनि सुनिन थालेको छ ।