एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ ः अध्यक्ष ओली

२०७९ पुष २५, सोमबार १५:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २५ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताउनुभएको छ । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले सरकारले संविधानको रक्षाका लागि काम गर्ने बताउनुभयो ।

“अहिलेको समीकरणले संविधानको रक्षाका लागि काम गर्नेछ”, उहाँले भन्नुभयो, “राष्ट्रियता, अखण्डता, देशको सार्वभौमसत्ता, स्वाभिमानको पक्षमा सरकार उभिन्छ ।” सुशासन, भ्रष्टाचार नियन्त्रणमा सरकारको महत्वपूर्ण नीति हुने जनाउँदै भ्रष्टाचारप्रति शून्यसहनशीलतालाई जनताले पत्याउने गरी अगाडि लैजाने उहाँले विश्वास दिलाउनुभयो ।

“अब हामीले गम्भीर शिक्षा लिनुपर्छ । मुख्यरुपमा लोकतान्त्रिक मूल्य मान्यतामा अगािड बढ्नुपर्छ । सांसद र नेताले सम्पूर्ण समय देशका लागि खर्चनुपर्छ”, एमाले संसदीय दलका नेता ओलीले भन्नुभयो, “अहिले मुलुकमा राष्ट्रिय एकताको आवश्यकता छ । एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ ।” सबैलाई देश निर्माणमा सकारात्मक योगदान गर्न आग्रह गर्दै उहाँले देशका लागि सँगै काम आह्वान गर्नुभयो ।

“आगामी दिनलाई रचनात्मक ढङ्गले अगाडि बढाऔँ, देशका लािग धेरै काम गरौँ”, उहाँले भन्नुभयो, “आम नागरिकका समस्याका साथै भूमिसम्बन्धी समस्या, अपाङ्गता भएका व्यक्तिका समस्या समाधान गर्नुपर्नेछ ।” राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको असरबाट अझै नेपाली जनता मुक्त हुन नसकेको भन्दै उहाँले राजनीतक आन्दोलनबाट प्रभावित व्यक्तिलाई राहत दिनुपर्नेमा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता साझेदार दलको सहमतिमा छिट्टै न्यूनतम साझा कार्यक्रम आउने उहाँको भनाइ छ । “विधिवत् ढङ्गबाट हामीले एउटा नीति तय गर्नेछौँ । त्यो नीतिअनुसार नै सरकार अगािड बढ्नेछ”, अध्यक्ष ओलीले भन्नुभयो, “यस सरकारले लोकतन्त्रको रक्षा, संवद्र्धन र सुदृढीकरणका लागि काम गर्ने छ ।”

मुलुकलाई तीव्र आर्थिक विकासमा अगाडि लैजान सहज परिस्थिति नभएको जनाउँदै उहाँले चुनौतीको समाधान गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । सांसदको हैसियतले देश र जनताका लागि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “हाम्रा अगाडि धेरै चुनौती छन् । भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेदको अन्त्य, आन्दोलनका घाउमा मलमपट्टी गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “राजनीतिक बन्दी रिहा हुन सकेका छैनन्, शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने चुनौती छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार