वीरगञ्ज, २८ मंसिर । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने उद्घोष गर्नुभएको छ ।
स्व. सर्राफको १३ औँ दिनको पूण्यतिथीका अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सांसद् यादवले १ लाख आर्थिक सहयोग उपलब्ध गराउने उद्घोष गर्नुभएको छ । सांसद् यादवले प्रधानमन्त्रीलाई भनेर भएपनि अर्थ मन्त्रालयबाट सर्राफका परिवारको लागि विशेष राहतको व्यवस्था गर्ने आश्वासन पनि दिनुभएको छ । पर्साको पत्रकारिता क्षेत्रमा सर्राफको निधनले क्षति भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका यादवले उहाँले अंगालेको मार्गमा निर्देशित भई निष्पक्ष र निडर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सर्राफ स्वच्छ छविका र ईमान्दार पत्रकार भएको बताउँदै यादवले उनको जस्तो स्वभाव भएको पत्रकार पर्साले पाउन मुस्किल पर्ने बताउनुभयो । विशेष गरी भूइँतहका र सर्वसाधारण नागरिकका समस्या एवम् पिडाहरुलाई खोजी खोजी पत्रकारिता गरेमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि यादवले व्यक्त गर्नुभएको छ ।
पत्रकारको हकहित र पेशागत सुरक्षा एवम् मर्यादाका लागि सदैव एकरुप भएर लाग्न आग्रह गर्दै पर्साको पत्रकारिताको उचाईलाई अँझै बढाउन पनि उहाँले सुझाव दिनुभएको छ । सर्राफ पत्रकार मात्रै नभएर सामाजिक अभियानताको रुपमा विभिन्नि किसिमका सामजिक क्रियाकलापहरुमा पनि सक्रिय रहेको स्मरण गर्दै यादवले उहाँको छोटो समयको योगदान पनि अविस्मरणीय रहेको बताउनुभयो ।