काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शनिबार बिहान निधन भएको छ । उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघि देखि अस्पतालमा भर्ना गरिएको थियो ।
काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत आलमलाई केहि दिन देखि भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारका क्रममा शनिबार बिहान निधन भएको काँग्रेस नेता देव प्रसाद तिमल्सिनाले बताए । आलमको पार्थिव शरीरलाई काठमाडौँबाट रौतहट ल्याउने तयारी भएको उनले जानकारी दिए ।
आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् । आलमका छोरा डा. राजीक आलमका अनुसार बुबाको उपचारका लागी केहि महिना अघि भारतको दिल्लीस्थित एम्स अस्पतालमा लगिएको भएपनि घरमा नै पुनः फर्काइएको हो ।
एम्स अस्पतालबाट फर्किएपछि केएमसीमा उपचार जारी रहँदै गर्दा आज बिहान निधन भएको उनले जानकारी दिए ।
२०५६ र २०६४ सालमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा चुनाव जितेका आलम श्रम राज्यमन्त्री, वन राज्यमन्त्री, स्थानीय विकास राज्यमन्त्री र भूमिसुधार मन्त्री बनिसकेका थिए ।
कांग्रेसभित्र मधेसी–मुस्लिम समुदायको संगठित नेतृत्व निर्माण गर्ने मुख्य पात्रको रूपमा परिचित आलम २०६४ सालको संविधानसभा चुनावको पूर्वसन्ध्यामा राजपुरमा भएको बम विस्फोट आरोपमा करिब ६ वर्ष जेलमा रहे ।
गत जेठमा उच्च अदालतले आदेश दिँदै उनीसहित केही आरोपीहरूलाई रिहा गरेको थियो। सो मुद्दाको अन्तिम टुंगो भने अझै लागिसकेको छैन।





