विद्युतको माग बढ्यो, व्यवस्थापनमा चुनौती छ : ऊर्जामन्त्री खड्का

२०८२ श्रावण २०, मंगलवार १४:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युतको बढ्दो मागअनुसार व्यवस्थापन गर्नु चुनौतीपूर्ण बनेको स्वीकार गरेका छन्। उनले विद्युत उत्पादनलाई हरेक नागरिकको आयआर्जनसँग जोड्ने गरी सरकारले काम गरिरहेको बताउँदै निजी क्षेत्रसँगको सहकार्यमा जोड दिएका छन्। मंगलबार काठमाडौंमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले विद्युत आपूर्तिको माग व्यवस्थापनका लागि आवश्यक गृहकार्य जुन ढंगले हुनुपर्ने हो, त्यो हुन नसकेको बताए।

“विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको छ। अर्कोतिर चुनौतीहरू पनि थपिँदै गइरहेका छन्,” उनले भने, “व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो, त्यो हुन सकिरहेको छैन। त्यसलाई तीव्रता दिन आवश्यक छ।”
उनले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको स्पष्ट पारे। “सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न चाहन्छ। जतिपनि कानुनी अड्चन र बाधाहरू छन्, तिनलाई समयअनुकुल बनाइनेछ र संशोधन गरिनेछ,” मन्त्री खड्काले भने।

मन्त्री खड्काले उत्पादन बढाउँदा व्यक्तिगत, वातावरणीय र संरचनागत खतराहरूलाई ध्यानमा राखेर भरपर्दो र सुरक्षित प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। “हामीले हाम्रो विद्युत उत्पादनलाई हरेक नागरिकको आयआर्जनसँग जोड्ने गरी काम गरिरहेका छौं,” उनले थपे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार