पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने

२०७९ फाल्गुन २६, शुक्रबार ११:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जाजरकोट । बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याउने उद्देश्यका साथ कामको सुरु गरेको छ। सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए।

गाउँपालिकाले वडा नम्बर १, २ र ३ बाट कामको सुरुआत गरेको उनको भनाइ छ। यी वडामा हेल्पिटास नेपाल, गाउँपालिका र पहाडी क्षेत्र विकास अभियानको सामाजिक परिचालनमा चार सय ३१ घरधुरीमा चालू आर्थिक वर्षभित्र खानेपानीको धारा जडान गर्ने लक्ष्य लिइएको छ। यो कार्यक्रम खारी, बयाल, बूढागाउँ, सिल्पाचौर, तलिआग्र, लिम्सामा लक्षित छ। कूल दुई करोड २९ लाख ५९ हजार दुई सय ७८ लागतमा योजना सञ्चालन गरिएको हो। त्यस्तै बारेकोट–२ का ध्यारगाउँ, गैरागाउँ, कुनाउटा, रोकायगाउँका एक सय २८ घरधुरीमा धारा जडानका लागि ८० लाख बजेट विनियोजन गरिएको छ।

वर्षौंदेखि खानेपानीको अभावमा समस्य भोग्दै आएका यहाँका सर्वसाधारण घरमै खानेपानीको धारा जडान हुन थालेपछि खुसी भएको बारेकोट–२ का स्थानीय पदम रोकायले बताए। गाउँपालिकाको सहकार्यमा सबै वडामा खानेपानी पुर्‍याउनका लागि आफूहरु लागिपरेको परिचालनको क्षेत्रमा काम गरिरहेको पहाडी क्षेत्र विकास अभियानका प्रदीपजंग शाहको भनाइ छ। हाल गाउँपालिकाले जलउपयोग योजना निर्माण गरिरहेको छ।

जनसंख्या वृद्धि, पानीको बहुउपयोग, स्रोतको अभाव, जलवायु परिवर्तनलगायत कारणले सीमित पानीको स्रोतले मानिसको आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था रहेकाले गुरुयोजना निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष गिरीको भनाइ छ। पानीलाई आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी पानीलाई कसरी उपयोग गर्ने भन्ने विषयमा बृहत् योजना बनाएर कार्यान्वयन गर्दै लैजाने उनको भनाइ छ। यसले पानीको सही सदुपयोग गर्दै पानीसँग सम्बन्धित विवाद पनि समाधान हुने उनको विश्वास छ।

जलउपयोग गुरुयोजना जलस्रोतको एकीकृत विकासका लागि स्थानीय समुदायले सहभागितामूलक र समावेशी पद्धति अपनाएर जलस्रोतको योजना तर्जुमा र व्यवस्थापन गर्ने प्रक्रिया हो। यो प्रक्रियाले गाउँपालिकाभित्र भएका प्रयोग हुनसक्ने सम्भावित पानीका स्रोतको लेखाजोखा गर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार