काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका–१४, गण्डकचोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
गए राति करिब ९ बजे वीरगन्ज–पथलैया सडकखण्डमा पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश २–०३–००४ प ७९३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना२५प ४००३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलका चालकहरूलाई उपचारका लागि बारास्थित एलएस न्युरो अस्पतालमा पठाइएको थियो ।
प्रहरीका अनुसार उपचारका क्रममा ७९३० नम्बरको मोटरसाइकलका चालक बाराको परवानीपुर गाउँपालिका–४, चैनपुरका अन्दाजी २६ वर्षीय सुरज सराफको मृत्यु भएको हो । अर्का चालकको अवस्था मध्यम रहेको प्रहरीचौकी गण्डकले जनाएको छ ।