लमजुङ । दोर्दी गाउँपालिकाले उच्च पहाडी भेगमा ३ वटा पदमार्ग पहिचान गरेको छ पदमार्गमा भेडीगोठ भएकाले दोर्दी गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ को अवधारणा अघि सारेको छ ।
मानव बस्ती नभएका र होटलहरु समेत नरहेको अवस्थामा भेडीगोठमै बास बस्न मिल्ने गरी व्यवस्थापन गर्ने अवधारणा अघि सारिएको छ । ‘हामी भेडीगोठलाई आधारभूत सुविधाहरुसहित सेल्टरको रुपमा विकास गर्न चाहन्छौँ दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले भने । उनले गाउँपालिकाले ४ दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिए । गाउँपालिका अन्तर्गत पहिचान भएका पदमार्ग विल्कुलै नयाँ रहेको र मानवबस्ती साथै सडक सञ्जालभन्दा टाढा रहेकाले यी पदमार्गमा यात्रा गर्नेलाई नयाँ अनुभव प्राप्त हुने बताए ।
अधिकारीका अनुसार दोर्दी गाउँपालिका-४ को नौथरसेराबाट सुरु भएर इलमपोखरी, लिपेलेक हुँदै दाम्राङबाट फेरि नौथरसेरा झर्ने ४ दिने पदयात्रा गर्न सकिन्छ । यस्तै, नौथर सेराबाट इलमपोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे नौथरसेरा ८ दिनको यात्रा गर्न सकिन्छ । नौथरसेरा इलमपोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमेपोखरी, कुम्रोडाँडा, बाह्रपोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिलतर्फबाट बेंसीसहरसम्मको ११ दिनको पदयात्रा पनि गर्न सकिन्छ ।
अध्यक्ष अधिकारीका अनुसार पदमार्गमा यात्रा गर्दा बाटैभरी लालीगुँरास, हनी हन्टिङ, छहरा तथा झरना, गुफा, गढी साथै हिमश्रृंगखला लगायतको दृश्यावलोकन गर्न सकिन्छ । ती क्षेत्रमा हालसम्म पदमार्गको पहिचान, पोखरीको पुनःसंरचनाका साथै प्रचारप्रसार तथा भेडीगोठलाई सेल्टरका रुपमा विकास गर्नका लागि काम गरिरहेको अधिकारीको भनाइ छ ।