काठमाडौं। सामाजिक अभियन्ताको रुपमा परिचय बनाएकी शर्मिला वाइबाले आत्महत्याको प्रयास गरेकी छिन् । बुधवार राति वाइबाले बानियाँटार, काठमाडौंस्थित आफ्नै निवासमा विष पिएर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले उनको वीर अस्पतालको आइसियूमा उपचार भैरहेको छ । परिवारका सदस्यका अनुसार उनी अहिले खतरामुक्त हुनुका साथै बोल्न सक्ने अवस्थामा छिन् । वाइबाले विष सेवन गर्नुको कारण भने नबताएको प्रहरीको भनाइ छ । केहि समय अगाडि सामाजिक सञ्जालमा उनको नाम पत्रकार ऋषि धमलासंग सम्बन्ध रहेको कुराले चर्चा पाएको थियो । उनले आफ्नो र धमलाको सम्बन्ध लामो समयदेखि रहिआएको कुरा यूट्यूबमा दिइएको अन्तर्वार्तामा बताएकी थिइन् भने त्यसको भोलिपल्ट उनले आफ्नो वयान परिवर्तन समेत गरेकी थिइन् ।
त्यस्तै केहि दिन अगाडि अर्थात पल शाह जेलमुक्त हुँदा स्वागत गर्न पुगेकी वाइबाको गायक राजेश पायल राईसंगको विवाद पनि चर्चाको विषय बनेको थियो । उनलाई गायक राईले ‘तपाईँले किन मानिसलाई कन्फ्यूजमा पार्ने कुरा गरेर विवादमा आउन चाहनुहुन्छ, जनता जान्न चाहन्छ?’ भन्ने प्रश्न गरेपछि उनले आफ्नो आक्रोश सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी थिइन् ।
यसबाहेक विभिन्न विवादका कारण उनी सामाजिक सञ्जालमा चर्चाको विषय बन्दै आएकी छिन् ।