स्याङजाका पालिकामध्य कार्यसम्पादन मूल्याङ्कनमा आधिँखोला गाउँपालिका सर्बोत्कृष्ट

२०७९ फाल्गुन १७, बुधबार ०८:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङजा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जाको आधिँखोला गाउँपालिका सर्बोत्कृष्ट भएको छ । आयोगले आर्थिक वर्ष २०८०–०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका ११ पालिकामध्ये आधिँखोला गाउँपालिका उत्कृष्ट भएको हो । आधिँखोला गाउँपालिकाले ७४ दशमलव ९४०४ अङ्क प्राप्त गरीप् उत्कृष्ट भएको हो ।
कार्यसम्पादन मूल्याङ्कनमा चापाकोट नगरपालिकाले भने सबैभन्दा कम अङ्क प्राप्त गरेको छ । चापाकोट नगरपालिकाले ४८ दशमलव ६५८६ अङ्क मात्रै प्राप्त गरेको छ ।

आयोगले विभिन्न १७ वटा सूचकका आधारमा देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेकामा आधिँखोला गाउँपालिका प्रथम भएको हो ।
जिल्लामा रहेको पाँच नगरपालिकामध्ये भीरकोट नगरपालिका उत्कृष्ट भएको छ । भीरकोट नगरपालिकाले ६४ दशमलव ००१७ अङ्क प्राप्त गरेको छ । त्यसैगरी पुतलीबजार नगरपालिकाले ५९ दशमलव ०९, वालिङ नगरपालिकाले ५८ दशमलव १६४२, गल्याङ नगरपालिकाले ५२ दशमलव ३४७९ र चापाकोट नगरपालिकाले ४८ दशमलव ६५८६ अङ्क प्राप्त गरेको छ ।

त्यस्तैगरी जिल्लामा रहेको छ गाउँपालिकामध्ये आधिँखोला गाउँपालिकाले उत्कृष्ट भएको छ । यसले ७४ दशमलव ९४०४ अङ्क प्राप्त गरेको छ । त्यसैगरी कालीगण्डकी गाउँपालिकाले ६७ दशमल २४२६, फेदीखोला गाउँपालिकाले ६६ दशमलव २९९९, अर्जुनचौपारी गाउँपालिकाले ६० दशमलव १८८९, हरिनास गाउँपालिकाले ५९ दशमलव ७६५६ र विरुवा गाउँपालिकाले ५३ दशमलव ३७७७ अङ्क प्राप्त गरेका छन् ।

विसं २०७९ असार १० गतेभित्र आर्थिक वर्ष २०७९–०८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभामा पेस गरेरनगरेकोलाई पहिलो सूचक बनाइएको छ । आर्थिक वर्ष २०७९–०८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे नगरेकोलाई दोस्रो सूचक बनाइएको छ ।

स्थानीय तहले घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करवापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिकरूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे नगरेकोलाई तेस्रो सूचक बनाइएको छ । स्थानीय तहले आर्थिक वर्ष २०८०–०८१ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेरनगरेकोलाई चौथो सूचक बनाइएको छ ।

स्थानीय तहले आर्थिक वर्ष २०७८–०७९ को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्तसम्बन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरे– नगरेकोलाई पाँचौँ सूचक बनाइएको छ । आव २०७८–०७९ को राजस्व सङ्कलनको प्रक्षेपित लक्ष्य, आव २०७८–०७९ को यथार्थ राजस्व सङ्कलन रकम, आव २०७७–०७८ को यथार्थ राजस्व सङ्कलन रकम, आव २०७८–०७९ मा कुल विनियोजित रकम, आव २०७८–०७९ मा कूल पूँजीगत विनियोजित रकम, आव २०७८–०७९ मा कूल पूँजीगत खर्च रकम, आव २०७७–०७८ मा कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे÷नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे÷नगरेकोलाई सूचक बनाइएको छ ।

शैक्षिक सत्र २०७९ मा कक्षा १ देखि ८ सम्मको औसत खुद विद्यार्थी भर्नादर, शैक्षिक सत्र २०७८ मा कक्षा ८ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र २०७८ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कूल विद्यार्थी सङ्ख्या, आव २०७८–०७९ मा चारपटक गर्भजाँच गर्ने महिलाको सङ्ख्या, आव २०७८–०७९ मा २४ महिनासम्मका बालबालिकाको अनुमानित सङ्ख्या, पूर्णखोप पाएका बालबालिकाको सङ्ख्यालाई सूचक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार