काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरूलाई निलम्बन गर्न नहुने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै उनले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकिर गरे । राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परे भने उसको मतदान गर्ने अधिकार हनन् हुने गरी नियमावलीमा कुनै पनि व्यवस्था नगर्न उनको सुझाव छ ।
जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउने गरी नियमावलीको व्यवस्था गर्ने कुरामा आफू सहमत हुनै नसक्ने शाहीले बताए । उनले भने, ‘जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउन पाइँदैन । पक्राउ गर्नेबित्तिकै, हिरासतमा राख्नेबित्तिकै यदि सबै अधिकार खोसिने हो भने यो त सांसद जनताबाट जितको के महत्व भयो रु यो त सरकार पक्ष र बलियो पक्षले कुनै पनि बेला यसलाई हतियारको रूपमा प्रयोग गर्न सक्छ । अदालतले दोषी ठहराए निलम्बन हुने कुरा ठीक छ ।’
प्रमुख सचेतक शाहीले थपे, ‘एकजना सांसद बुटवल जाँदै गर्दाखेरी मानौं समातिन सक्छ । के गरौं । निलम्बन भयो भोटिङ गर्न पाइँदैन । भोलि अदालतमा गयो भने तिमी निर्दोष हौ भनेर फैसला गरिदिन सक्छ । तर, यहाँ अधिकार त खोसियो नि ।’अनुसन्धानका लागि पक्राउ गर्दैमा सांसद पद निलम्बनमा पर्ने कुरा संविधान विपरीत हुने उनले बताए ।