फागुन ७ र ८ गते काठमाडौंमा सातौं युवा वैज्ञानिक शिखर सम्मेलन हुँदै

२०७९ माघ २६, बिहीबार ०७:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस कलेज को संयुक्त आयोजनामा फागुन ७ र ८ गते युनिग्लोब एसएस कलेज, कमलादीमा सातौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान , राष्ट्रिय आविष्कार केन्द्र , नेपाल युवा परिषद् , युनेस्को नेपाल , अनुसन्धान तथा विकास सोसाईटी नेपाल र नेपाल विज्ञान शिक्षक समाज सँगको सहकार्यमा आयोजना हुने उक्त सम्मेलनमा देशभरका कक्षा ८ देखि १२ सम्मका युवा अनुसन्धानकर्ताहरूले भाग लिन सक्नेछन् ।

सो सम्मेलनमा युवा वैज्ञानिकहरुले पाँच विभिन्न विधाहरू मध्ये कुनै एकमा आफ्नो अनुसन्धान कार्य प्रस्तुत गरि प्रतिस्पर्धा गर्न सक्नेछन् । इन्जिनियरिङ तथा रोबोटिक्स, जीव विज्ञान, रसायन तथा पर्यावरण विज्ञान, भौतिक विज्ञान तथा गणित कम्प्युटर विज्ञान तथा महिला र फरक क्षमता भएका युवा अनुसन्धानकर्ता उक्त शिखर सम्मेलनमा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

सहभागीले संक्षिप्त लिखित सारांश, भिडियो, पोस्टर तथा मौखिक रुपमा प्रस्तुत गर्नेछन् । युवा वैज्ञानिकको अनुसन्धान कार्यको नवीनता पुरस्कार तथा पदक लागि छनोटको मुख्य मापदण्ड हुनेछ । यस सम्मेलनका बिजेतालाई पाँच विभिन्न विधा प्रमाणपत्र र पदकसहित सम्मान गरिनेछ । शीर्ष विजेताहरू सन् २०२३ मेक्सिकोको हर्मोसिलो, सोनोरामा आयोजना हुने १२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेमेलनमा सहभागिताका लागि आवेदन दिन योग्य हुनेछन्। साथै शिखर सम्मेलनका विजेताहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अन्य अनुसन्धान तथा सहकार्यका अवसरहरू प्रदान गरिने आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार