महेन्द्रनगरको बाल अनाथालयका प्रमुख शङ्कर बहादुर चन्दमाथि बालिका बलात्कारको आरोप

२०७९ माघ २३, सोमबार ०८:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

महेन्द्रनगर । मानसिक अवस्था स्थीर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय शङ्कर बहादुरचन्द माथि अहिले लागेको छ । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित बाल अनाथालयमा बेसहारा १४ वर्षीया ती बालिकाले आश्रय पाएकी थिइन ।

यहाँ दुई नाबालिकाले आफूहरुमाथि बलात्कार गरेको प्रहरी समक्ष बयान समेत दिएका प्रहरी स्रोतको भनाइ छ । एक साताअघि यहाँस्थित समाज कल्याण बाल अनाथालयका एक नाबालिकामाथि पनि अनाथालयमै जबरर्जस्ती करणी गरेको आरोप लागेका कार्यालय प्रमुख चन्द यतिबेला कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

“उनले बालिकालाई टिभी हेराउने बहनामा कार्यकक्षमै लगेर बलात्कार गर्ने गरेको अन्य बालिकाले देखेको कुरो पनि छ ।” अनाथालयकै एक कर्मचारीले भने,–“ बालिका गर्भवती भएपछि चन्दले नै गर्भ तुहाउने औषधि सेवन गराएपछि अत्यधिक रक्तश्राप हुँदा घटना बाहिरिएको हो ।” यता प्रहरीले उक्त घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी निरीक्षक भरतराज गिरीले आरोपित चन्दलाई हिरासतमा राखी जबरजस्ती करणी मुद्दामा सात दिन म्याद थप गराएर अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । “अन्य कागजात जुटाउनेदेखि घटनाको सबै कोणबाट अनुसन्धान हुदैछ ।” उनले भने, “बालिकालाई शान्ति पुनःस्थापना गृहको संरक्षणमा राखिएको छ ।”

गत माघ १७ गते प्रहरीले बालिकामाथि बलात्कारको सूचना प्राप्त गर्नासाथ चन्दलाई नियन्त्रणमा लिएको थियो । टुहुरा बालबालिकाको आश्रयस्थलमै बालबालिकामाथि संरक्षकबाटै भएका यौन दुव्र्यवहारका घटनाप्रति यहाँ सर्वत्र विरोध भइरहेको छ । महेन्द्रनगरमा विद्यार्थीले जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

विद्यार्थीले बालबालिकाको सुरक्षाको विषयमा सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड पनि दिए । “बालिकाको अनाथालयमा रक्तश्राप नभएको भए घटना बाहिर नै आउने थिएन ।” यहाँस्थित कञ्च विद्या मन्दिरमा स्नातक तहमा अध्ययन प्रकृति भट्टले भनीन्, “ सामान्य अवस्थामा पनि अनाथालय समितिका पदाधिकारीले बालबालिकाको मनोभावना नबुझ्ने र सुरक्षाको विषयमा सचेत नभएका कारण पनि यस्ता घटना भइरहेका छन् ।”

अनाथलयजस्तो पवित्र संस्थामा यसप्रकारको घटना हुनु अतिनै दुख्द विषय भएकाले उक्त घटनाको अनुसन्धानका लागि अनाथालय व्यवस्थापनले प्रहरी प्रशासनलाई पूर्ण सहयोग गर्ने विज्ञप्तिमा जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार