काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्री आफूले पाउनुपर्ने अडानमा छ । रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग गरेका हुन् ।
रास्वपा स्रोतका अनुसार सभापति लामिछानेले आफूले गृहमन्त्रालय नपाए देशको राजनीति पुस १० भन्दा अगाडिको अवस्थामा पुग्ने चेतावनी दिएका थिए । पुस १० मा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जनता समाजवादी पार्टी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आपसमा मिलेर सरकार गठन गर्ने सहमति भएको थियो । फेरि त्यही ठाउँमा राजनीति पुग्नु भनेको सरकारलाई दिएको सर्मथन आफूहरुले फिर्ता लिने अवस्थामा पुग्नु भएको रास्वपा नेताको भनाइ छ ।
प्रधानमन्त्रीले भने नागरिकता पुनः लिए पनि पुरानै नागरिकताका आधारमा राहादानी लिएको विषयमा अझै विवाद रहेको भन्दै रविलाई अहिले हतार नगर्न आग्रह गरेका थिए । ‘कानूनी कुरा के हुन्छ, एकचोटी सरसल्लाह गरौं, भोलि फेरि अप्ठ्यारो नहोस्,’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘कानूनी अप्ठ्यारा पनि हुन सक्छन् । राहादानी लगायतका कुरामा कानूनी समस्या के हुन्छ, त्यो बुझौं ।’
सर्वोच्च अदालतको फैसलापछि लामिछाने पदमुक्त भएपछि माओवादीका कतिपय नेताहरुले गृृह मन्त्रालय आफूहरुले नै राख्नुपर्ने बताएका छन् ।