सुमन सायमीले मेयर बालेनलाई भने-सच्चिनुस नत्र मेयरबाट ओराल्ने अधिकार जनतालाई छ

२०७९ माघ १५, आईतवार ११:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सडक विस्तार पीडित संघर्ष समितिका नेता सुमन सायमीले बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश भएको बताएका छन् । महानगरपालिकाले संविधान र कानुन विपरीत डोजर चलाइरहेको भन्दै आइतबार महानगरबासीको ठूलो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनलाई सम्बोधन गर्दै सायमीले मेयर बालेन साहले जनताले दिएको अधिकारको दुरुपयोग गरेको बताए ।

‘पहिलेका शासक भन्दा पनि यिनी महानिरकुंश भएर आएका छन् । पहिला हामीलाई कुनै पनि निजी सम्पत्ति लिनलाई सूचना दिइन्थ्यो, मार्किङ गरिन्थ्यो, हामी न्यायालय जान पाउथ्यौं’ उनले भने, ‘अहिले न सूचना दिएको छ, न मार्किङ गरेको छ । डोजर लिएर आएको छ । आक्रमण गरेको छ, लुट्दै बसेको छ । यो लुटतन्त्र हामी सहदैनौं ।’

मेयर बालेन साहलाई सच्चिन आग्रह गर्दै उनले नसच्चिए मेयर पदबाट ओराल्ने अधिकार पनि जनतासँग भएको बताए । सायमीले भने, ‘यदि उहाँ सच्चिनुभएन भने सच्याउने अधिकार हामीसँग छ । जनताले त्यहाँ पु¥याएको भन्ने महसुस गर्नुपर्‍यो । जनचाहना विपरीत गएपछि त्यहाँबाट ओराल्ने अधिकार जनतासँग छ ।’

महानगरबासीको करबाट महानगर चलिरहेको भन्दै उनले दुख दिने हो भने कर पनि नतिर्ने चेतावनी दिए । ‘महानगरपालिका चलाउन महानगरबासीले ट्याक्स तिरेका छौं । हामीलाई सुविधा दिएन भने हामी ट्याक्स पनि तिर्दैनौं’ सायमीले भने ।

यो देशमा गरिब पनि छन् भन्ने महसुस गर्न आग्रह गर्दै सायमीले डोजर आतंक बन्द गर्न मेयर बालेनलाई आग्रह गरेका छन् । निजी सम्पत्तिमा डोजर प्रयोग गर्दा कानुनी र संवैधानिक अधिकार सुनिश्चित गर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार