स्याङ्जा । स्याङ्जाको एउटा वडाले १४ करोड रुपैयाँ बराबरको सुन्तला बिक्रि गरेको छ । पुतलीबजार नगरपालिका(१० ले यो वर्ष सुन्तला बिक्रीबाट १४ करोड रूपैयाँ आम्दानी गरेको छ । व्यावसायीकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैंले बिक्री गरेर १४ करोड रूपैयाँसम्म आम्दानी गरेका हुन् । जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १० नम्वर वडामा बस्ने सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिव मुक्ति अधिकारीले जानकारी दिए । ‘वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै हुनुहुन्छ, उहाँहरुले न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाखसम्म आम्दानी गर्नुहुन्छ’ उनले भने ।
पाँच–सात लाख रूपैयाँदेखि १५–२० लाख रूपैयाँ आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ । किसानले बगैंचा नै ठेक्कामा दिने वा आफैं टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन् । कोदो तथा मकै खेतीबाट जीविकोपार्जन गरिरहेका किसानले हाल व्यावसायिक रुपमा सुन्तला खेती गरेर बर्सेनि लाखौँ भित्र्याइरहेका छन् ।
सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थप्नेका छन् । अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढेपनि बजार मूल्य गत वर्षको जति पनि नहुँदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरु बताउँछन् । प्रतिकेजी ५५ रुपैयाँबाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी ९० रुपैयाँमा बिक्री भइरहेको छ ।
अपेक्षाअनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर बिक्री थालिएको थियो । तर व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरु थप मर्कामा परेका छन् । जिल्लामा यस वर्ष एक अर्ब २५ करोड रुपैयाँको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ ।