काठमाडौँ, २९ मङ्सिर । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा नयाँ कार्यसमिति चयन भएको छ ।
बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैठौँ महासभाबाट नाफिजमा मोदनाथ ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । १३ सदस्यीय कार्यसमितिमा महासभाले सात पदाधिकारी र चार सदस्य निर्वाचित गरेको छ । कार्यसमितिले बाँकी दुई सदस्यको मनोनयन गर्नेछ ।
महासभामा निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो । यसअनुसार नाफिजको अध्यक्षमा दि राइजिङ नेपालका मोदनाथ ढकाल निर्वाचित हुनुभएको छ । यस्तै, उपाध्यक्षमा नोटबजारका परमेश्वर अधिकारी र हाम्रो अर्थकी मेनुका कार्की निर्वाचित हुनुभएको छ ।
यसैगरी, महासचिवमा अनलाइनखबरका नविन ढुंगाना, सचिवमा नेपालखबरका दीपक भट्ट र कोषाध्यक्षमा सिंहदरबारकी दिलु कार्की निर्विरोध निर्वाचित हुनुभयो । यस्तै, सदस्यहरूमा रातोपाटीका निकेश खत्री, अनलाइनखबरका विजय पराजुली, सेतोपाटीकी सबिना कार्की र नेपाल प्रेसका राजाराम न्यौपाने विजयी हुनुभयो ।