कालीगण्डकीमा ७ वर्षदेखि पुल निर्माण अलपत्र

२०७९ मंसिर २०, मंगलवार १०:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,२० मंसिर । दुर्गम पहाडी क्षेत्रको कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पक्की पुल ७ वर्षदेखि अलपत्र छ । पूर्वी नवलपरासीको बुलिङटार र तनहुँ जोड्ने पक्की पुल निर्माण थालेको ७ वर्ष पूरा भइसक्दा पनि सम्पन्न हुन नसकेको हो ।

बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीका अनुसार पुल निर्माणका लागि खम्बा ठड्याएर अलपत्र पारेर ठेकेदार बेपत्ता भएका छन् । खम्बामा प्रयोग भएका फलामे डण्डीमा खिया लागेर कामै नलाग्ने भइसकेको सुनारीले बताउनुभएको छ। तीनवटा खम्बा ठड्याएर अलपत्र पारेर ठेकेदारले छोडेका छन् । पुल बनाउन ल्याइएका फलाम खिया लागेर बगरमा लथालिंग छोडिएको छ । कालिगण्डकी नदीमा निर्माणाधीन यो पुलले बुलिङटार गाउँपालिका वडा नम्बर ४ कोखे र तनहुँको रिसिङ गाउँपालिकाको वडा नम्बर ६ को मधुवन गाउँ जोड्ने पुल हो । पुल नजिक पुग्ने दुबै जिल्लाबाट सडक निर्माण भइसकेको छ ।

तनहुँतर्फ जोडिने रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार जेभी कन्सट्रक्सन कम्पनीले यो पुल निर्माणका लागि ४० करोडमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीका मालिक जयराम लामिछाने सम्पर्कमा नै नआएको र पटकपटक फोन गर्दा पनि नउठाउने गरेको अध्यक्ष श्रेष्ठ बताउँनुहुन्छ । मन्त्रालयमा पनि धेरैपटक धाइसकियो सरकारी निकायले नै वास्ता गर्दैनन्,अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

ताकेता गर्ने भौतिक पूर्वाधार मन्त्रालयको पुल विभागलाई धेरै पटक जानकारी गराउँदा समेत बेवास्ता भएको उहाँको भनाइ छ । ठेकेदार सम्पर्कमै छैनन् । काम पनि गर्दैनन् हाम्रो प्रयासले केही नहुने भयो, उहाँ भन्नुभयो ।

गैंडाकोट बुलिङटार हुँदै मुक्तिनाथ जाने कालीगण्डकी सडक सञ्जालसँग यो पुल नजिक पर्छ । तनहुँ र नवलपरासीको पहाडी भेगमा जाने यो पुल चाँडो निर्माण होस् भन्ने स्थानीयहरूले पनि चासो देखाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार