मौसममा बदली: उच्च क्षेत्रमा सुरू भयो हिमपात, चिसो बढ्यो

२०८० मंसिर २३, शनिबार १३:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ । हिमपात भएपछि चिसो बढेर लेकाली क्षेत्रको जनजीवत प्रभावित भएको छ । ताप्लेजुङको पाथीभरा र आसपास क्षेत्र, इलामको सन्दकपुर लगायत क्षेत्रमा हिमपात भएको हो ।

वर्षापछि ती क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । स्थानीय लाक्पा शेर्पाका अनुसार इलामको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातपछि चिसो निकै बढेको उनको भनाइ छ । गत बिहीबार दिउँसोदेखि नै ती क्षेत्रमा हिमपात हुन थालेको हो । ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुर क्षेत्र कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल मध्येको एक हो ।

हिमपात भएपछि त्यस क्षेत्रमा घुम्न जाने र हिउँमा खेल्नेहरु आकर्षित हुने गरेका छन् । वर्षा र हिमपातपछि स्थानीय किसान खुसी भएका छन् । आफूहरुले लगाएको बालीनाली सप्रने भएकाले उनीहरु उत्साहित छन् । उता, ताप्लेजुङको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा पनि वर्षा र हिमपात भएको छ ।

हिमपात भएपछि तीर्थयात्रुहरु प्रभावित बनेको स्थानीय जीवन खतिवडाले बताए । मौसम परिवर्तन भइरहेकाले तराई क्षेत्रमा हुस्सु लाग्न थालेको छ । दुई दिनयता बेला बेला वर्षा हुने र धुम्म हुने गरेकाले तराईका जिल्लामा पनि चिसो बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय