भोजपुरमा निःशुल्क स्वास्थ्य शिविर, २ हजार ४ सयले लिए सेवा

२०८० पुष २८, शनिबार ११:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भोजपुर । काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजका संचालक एवं नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको विशेष पहलमा भोजपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको हतुवागडी गाउँपालिकाको सगरमाथा माध्यमिक विद्यालय र आमचोक गाउँपालिकाको चन्डेश्वर माध्यमिक विद्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा २ हजार ४ सय जना बिरामीले सेवा लिएका छन् । पुस २३ र २४ गते आयोजित स्वास्थ्य शिविरमा २ हजार ४ सय १८ जना स्थानीयको स्वास्थ्य जाँच गरिएको बताइएको छ । शिविरमा नोबेल मेडिकल कलेजबाट मेडिसिन, प्रसुति तथा स्त्री रोग, सर्जरी, हाडजोर्नी, नाक कान घाँटी, दन्त रोग, बाल रोग, आँखा रोग लगायत विभागका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए । शिविरलाई सम्बोधन गर्दै डा. शर्माले शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ तथा निःशुल्क हुनुपर्ने बताए । आम नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउनु पर्ने राज्यको दायित्व भएको जिकीर गर्दै आफु सदैव गरिब, विपन्न नागरिकको पक्षमा रहेको बताए ।

स्वास्थ्य शिविरबाट अपरेशन गर्न रेफर भएका बिरामीहरुलाई विराटनगरको नोबेल शिक्षण अस्पताल तथा काठमाडौं मेडिकल कलेजमा निःशुल्क अपरेशन गर्ने घोषणा गर्दै सांसद शर्माले भने, ‘यो शिविरबाट अपरेशन गर्न रेफर हुनुभएका सम्पूर्ण बिरामीको नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छु ।’

स्वास्थ्य शिविरमा २७५ जनाको भिडियो एक्सरे, १२६ जनाको ईसिजि, ३६१ जनाको ल्याब परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । भने, ३१० जनाको आँखा जाँच, ३५३ जनाको जनरल मेडिसिन, १२५ जनाको छाला रोग, १८५ जनाको स्त्री तथा प्रसुति, ११८ जनाको सर्जरी, ३२५ जनाको हाडजोर्नी, १५० जनाको नाक कान घाँटी, ६० जनाको दन्त रोग, ३० जना बाल रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको छ ।

काठमाडौं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले सांसद डा. शर्मा जनताले घरदैलोमै स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने सोच लिएको अगाडी बढेकोले उनको सोचलाई पूर्णता दिन काठमाडौं मेडिकल कलेज पनि सामाजिक उत्तरदायित्व अन्तरगत अगाडी बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय