काठमाडौं। देशकै जेठो अस्पताल वीर अस्पतालमा बिरामीको बाह्रैमास चाप हुने गर्छ । विगतमा अस्पतालको सेवाप्रति असन्तुष्ट जनाउने बिरामीले अहिले अस्पतालको व्यवस्थापन राम्रो भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
पछिल्लो समय देशभरबाट आउने सेवाग्राहीले अहिले अस्पतालको सेवा राम्रो भएको महसुस गरेका छन् । विगतमा अस्पतालमा बिरामी लिएर आएका कुरुवाहरु बस्न सक्ने अवस्था थिएन । अहिले अस्पताल सर-सफाईमा ध्यान गएको कुरुवाहरु बताउँछन् । धादिङ धुनवेशीबाट हजुरआमाको उपचारका लागि वीर अस्पताल रुपा माझिले विगतको तुलनामा अहिले अस्पतालको धेरै राम्रो भएको बताइन् । धादिङबाट सामान्य उपचारकै लागि पनि वीर अस्पताल धाउने गरेको बताउँदै उनी भन्छिन्, ‘अहिले त दिनमा तीन पटकसम्म अस्पतालको भुइँ सफा गर्दा रहेछन् । शौचालय प्रयोग गर्न सकिने हुन्थेनन् अहिले शौचालय पनि सफा भइरहन्छ ।’
रुपाका अनुसार वीर अस्पतालमा अहिले कुरुवा बस्नेहरुका लागि सहज वातावरण बनेको छ । हजुरआमाको पत्थरीको उपचारका लगि एक सातादेखि अस्पतालमा रहेकी उनले अस्पतालको वातावरण सहज भएको महसुस गरिन् । बिरामीका लागि बिहान चना अण्डा, दुध, तातोपानि, दिउँसो चिया विस्कुट लयागतका खाने कुराहरु समयमै पाइने गरेको उनको भनाई छ । अस्पतालको पुरानो भवनमा रहेका बिरामीहरुले राम्रो सेवा पाइरहेको अर्का झापाका टोपबहादुर राई बताउँछन् । झापाबाट कानको उपचारका लागि काठमाडौं आएका उनले अस्पतालका बारेमा सुने अनुसारको समस्या झेल्न नपरेको बताए ।
पछिल्लो समय वीर अस्पतालका वार्डहरु व्यवस्थित भएको भक्तपुर ठिमीबाट आएकी सुनिता डंगोल बताउँछिन् । अस्पतालको पुरानो भवनमा बिरामीको कुरुवा बसेकी डंगोलले अहिले कुरुवा बस्नेको लागि पनि राम्रो वातावरण बन्दै गएको बताइन् । उनी भन्छिन्,‘पहिला पहिला कुरुवाहरु बस्ने ठाउँ हुन्थेन । बस्ने ठाउँमा मुसा दौडिएर सुत्न सकिन्थेन । अहिले डाक्टर र नर्सहरु पनि घुमिरहन्छन् । बोलाइरहन हिँड्नुपर्ने अवस्था अहिले रहेनछ ।’
त्यस्तै यता नयाँ भवनतर्फका सेवाग्राहीको भने छुट्टै गुनासो रहेको छ । पुरानो भवमा बिरामीको रेखदेख धेरै हुने नयाँमा त्यति नहुँने नवलपरासी बर्दघाटकी अनिता चौधरी बताउँछिन् । उनी भन्छिन्,‘उता पुरानो भवनमा डाक्टरहरु धेरै आउने जाने गर्छन्, यता सिमित टाइममा मात्रै आउँछन् । पुरानो भवनमा सिस्टर पनि अनुभवी आउने रहेछन् । उता सिस्टरहरु बोलाउन जानुपर्दैन यता चाहिँ सिस्टरहरु पनि थोरै छन् ।’ तीन सातादेखि अस्पतालको बास रहेको बताउँछिन् । अस्पतालले बिरामीको अवस्था हेरेर नयाँ तथा पुरानो वार्डमा पठाउने गरेको छ ।
वीर अस्पतालमा पछिल्लो समय सेवा सुविधा चुस्त दुरुस्त बन्दै गएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए । अस्पलालमा मुटु रोगीको उपचारका लागि कार्डियोलोजी विभाग क्याथ ल्याब सञ्चालनमा आएसँगै पछिल्लो समय मुटु रोगीको उपचार भइरहेको समेत उनले बताए । अस्पतालमा जनशक्ति तथा उपकरणहरु थप्ने प्रकृया भइरहेको उनको भनाई छ ।
त्यस्तै अस्पतालमा डिजिटल प्रणालीबाट सेवा प्रदान, फार्मेसी सेवा थप विस्तार लगायतका सुविधाहरुमा उल्लेखनिय सुधार भएको सूचना अधिकारी मिश्र बताउँछन् ।