संयुक्त राष्ट्रसंघ । टर्की र सिरियाका भूकम्पपीडितहरूलाई संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरूले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन् । ती प्रवक्ताले गत महिना टर्की र सिरियामा गएको भूकम्पका पीडितलाई निरन्तर रुपमा सहयोग उपलब्ध गराएका जनाएका छन् । सिरियामा भूकम्पबाट ८० लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ । यहाँका नागरिकमा आवश्यक खाद्यान्न र पानीको पनि समस्या परेको छ । सफा पिउने पानीको अभावमा यहाँका कतिपय स्थानमा हैजाको प्रकोप फैलिने त्रास रहेकाले ती स्थानहरूमा पछिल्ला केही समययता स्वास्थ्य सामग्री र औषधि पनि वितरण गरिएको छ ।
ती प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसंघका विशिष्टिकृत एजेन्सीहरूले औषधि, खद्यान्नको प्रबन्ध गरेका छन् । हैजाको प्रकोप फैलिन सक्ने सम्भावित स्थानहरुमा ती एजेन्सीहरूको सहयोगमा हैजा विरुद्धको खोप आदिको पनि व्यवस्था गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सी, विश्व स्वास्थ्य संगठन, विश्व खाद्य कार्यक्रम आदिले सिरिया र टर्कीका भूकम्प प्रभावितहरूका लागि काम गरिरहेका बताइएको छ ।