यूएईमाथि पीएनजीको सहज जित

२०७९ फाल्गुन २१, आईतवार ११:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा आइतबार पपुवा न्युगिनी (पीएनजी)ले घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई)लाई पाँच विकेटले पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले प्रस्तुत गरेको ९७ रनको झिनो लक्ष्य पीएनजीले २६.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

त्यसअघि, पीएनजीका रिले हाकुरेले घातक बलिङ गरेपछि टस हारेर ब्याटिङमा आएको यूएई २६.२ ओभरमा ९७ रनमा समेटिएको थियो । पीएनजीको जितमा ओपनर टोनी उराले अविजित ३५ रन बनाए । उनले ६३ बलमा तीन चौका प्रहार गरे । सेसे बाउले १८ र हिरी हिरीले १४ रन थप्दा चाड सोपेर आठ रनमा अविजित रहे । यूएईका रोहन मुस्तफाले दुई विकेट लिए । आयान अफ्जल खान, जहुर खान र जुनैद सिद्दिकीले समान एक विकेट लिए । त्यसअघि, पीएनजीको बलिङसामु निरीह देखिएको यूएईका लागि भ्रित्या अरविन्दले २६ रन बनाएका थिए ।

ओपनर मुहम्मद वसिमले १९ रन थप्दा आसिफ खानले ११ र कप्तान सिपी रिजवानले १० रन जोडे । यसबाहेक यूएईका अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यूएईका रोहन मुस्तफा, आर्यन लक्रा, जुनैद सिद्दिकी र आयान अफजल खान खाता पनि नखोली पभेलियन फर्किएका थिए । घरेलु टिमलाई झिनो योगफलमा रोक्न पीएनजीका हाकुरेले पाँच विकेट लिए । हाकुरेले ४.२ ओभरमा एक मेडर राख्दै १३ रन मात्र खर्चिए । हाकुरेले एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा पाँच विकेट लिएको यो पहिलोपटक हो । चाड सोपेरले तीन र चार्ल्स एमिनीले एक विकेट झारे ।

शृंखलामा पीएनजीको यो अन्तिम खेल हो । यूएईले भोलि (सोमबार) नेपालसँग शृंखलाको अन्तिम खेल खेल्नेछ । शृंखलाको पहिलो खेलमा पीएनजी नेपालसँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा यूएईलाई १३१ रनले हराएको थियो । पीएनजी तेस्रो खेलमा पुनः नेपालसँग तीन विकेटले पराजित भएको थियो । पहिलो खेलमा नामिबियासँग पराजित भएको यूएईले दोस्रो खेलमा नेपाललाई ६८ रनले पराजित गरेको थियो । जितका बाबजुद ३२ खेलबाट नौ अंक जोडेको पीएनजी अंकतालिकाको पुछारमा छ । अब पीएनजीले लिग–२ का अन्तिम चार खेल नेपालमा खेल्नेछ ।

३२ खेलबाट ३१ अंकसहित यूएई पाँचौँ स्थानमा यथावत् छ । ३१ खेलबाट ३० अंक जोडेको नेपाल छैटौँ स्थानमा छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिमले आउँदो जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । बाँकी चार टिमले मार्च २४ देखि अप्रिल ४ सम्म नामिबियामा हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् । विश्वकप क्वालिफायर प्लेअफमा च्यालेन्ज लिगबाट शीर्ष दुई र लिग–२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई, क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन र आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगबाट पुछारमा रहेका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगताबाट शीर्ष दुई टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । सुपर लिगका शीर्ष सात टिमले सिधै आईसीसी एकदिवसीय विश्वकपका स्थान बनाउनेछन् ।

आयोजक राष्ट्रका रूपमा भारतले पनि सिधै विश्वकपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार