काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज (शुक्रबार) पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । खेल बिहान पौने १२ बजे दुबईमा शुरु हुनेछ । यो श्रृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।
पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । हिजोको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो श्रृङ्खलामा नेपाल, यूएई र पपुवा न्युगिनी रहेका छन् । अर्को खेल सोमवार यूएईसँग हुनेछ । अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटौँ स्थानमा छ ।
अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्वकप खेल्न बाँकी रहेका ६ वटै खेल जित्नु पर्नेछ । साथै एक दिवसीय मान्यता जोगाउन ४ खेल जित्नुपर्ने हुन्छ ।