इटालीको दक्षिणी तटमा गएको आइतबार भएको डुंगा दुर्घटनामा ६३ आप्रवासीको मृत्यु भएको छ । दर्जनौँ बेपत्ता भएका छन् । दुर्घटनामा कम्तीमा आठ बालबालिकाको ज्यान गएको थियो ।
मध्य समुद्रमा आँधीबेहरीबीच काठको डुंगा फुटेर उक्त दुर्घटना भएको थियो । ८० जनाको जीवितै उद्धार गरिएको थियो । डुंगामा १७० जना सवार थिए । टर्कीको समुद्रबाट डुंगामा उनीहरू इटालीको समुद्री तटमा पुगेका थिए । दुर्घटनाग्रस्त डुंगामा धेरैजना पौडिन नजान्ने थिए । तटरक्षक, गोताखोर, सुरक्षाकर्मीलगायत खोज तथा उद्धारमा जुटेका छन् । दुईवटा हेलिकोप्टर पनि खोजीमा परिचालन गरिएको छ । मृतकको शव पहिचानका लागि दक्षिणी सहर क्रोटोनको खेलमैदानमा राखिएको छ ।
सरकारी अधिकारीले मृतकका आफन्तलाई दुर्घटनामा परेका प्रियजनको विवरण उपलब्ध गराउन आग्रह गरेका छन् । उनीहरूले खोज तथा उद्धारमा विलम्ब गरिएको आरोपको खण्डन गरेका छन् ।