नेविसंले आयोजना गरेको ‘रोबोटिक वार’ प्रतियोगितामा नेपाललाई स्वर्ण पदक

२०८० माघ १६, मंगलवार १४:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आयोजना गरेको विश्वकर्मा ब्याटल अफ टाइटन्स–२ अन्तर्राष्ट्रिय रोबोवार प्रतियोगितामा नेपालले स्वर्ण पदक जितेको छ । दशरथ रंगशालामा सञ्चालित प्रतियोगितामा कुल १४ समूहमध्ये नेपालको बलियो बट रोबोटले स्वर्ण पदक जितेको हो । यस्तै भारतको इन्भिन्सिबल (अर्जुन) दोस्रो भएको छ । लेडी लिडरसिपको उपाधि फायरफ्लाइज (केइसी धापाखेल कलेज)ले जित्दा बेस्ट इमर्जिङ समूह एक्सएआर चुनियो । बेस्ट डिस्ट्रक्सनमा गडफादर र बेस्ट ड्राइभमा भारतको जेनोन पहिलो भए ।

उपाधिसहित नेपालले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो स्थानमा चित्त बुझाएको भारतको इन्भिन्सिबल टिमले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । अन्य समूहका विजेताले समान २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

माघ १३ गते नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरेको प्रतियोगिताको समापन सत्रमा परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदको प्रमुख आतिथ्यता थियो । परराष्ट्रमन्त्री साउदले नेवि संघले गरेका कार्यक्रमको प्रशंसा गर्दै विद्यार्थी सगंठन सडक आन्दोलनमा मात्र नभई सिर्जना र आविष्कारका क्षेत्रमा पनि सक्रिय भई विज्ञान प्रविधि सापेक्ष यस्ता कार्यक्रमले नयाँ पुस्तामा आशा जगाउने विश्वास व्यक्त गरे । यस्तै, उनले अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने यस्ता खालका कार्यक्रम हरुले सहभागी देशहरूबीच आपसी सद्भाव एकता र दुई देशबीचको सम्बन्ध सुदृढ हुने बताए ।

कार्यक्रम समापन सत्रमा नेवि संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सहभागी प्रतियोगीसँगै विजयी समूहलाई धन्यवाद तथा बधाई दिँदै आगामी दिनमा समेत यस्तै रचनात्मक खालका अन्य कार्यक्रम इथिकल ह्याकथोन, स्टार्टअफ फेस्ट र राष्ट्रिय स्तरको मुड कोट प्रतियोगिता गर्ने तयारीमा जुटेको बताए । उनले नेपाल विद्यार्थी संघ समय सापेक्ष रचनात्मक, सिर्जनशिल, प्रविधिमैत्री र समयको माग बमोजिम युवा तथा विद्यार्थीको पक्षमा क्रियाशील रहने जनाए ।

नेवि संघका केन्द्रीय सदस्य नारायण पाण्डेले संघ समय सापेक्षित गतिविधि आयोजना गर्ने कुरामा केन्द्रित रहेकाले यो प्रतियोगिता आयोजना गरिएको बताए । ‘नेपाल विद्यार्थी संघ विगतका कमी कमजोरीको अध्ययन र विश्लेषण गर्दै अहिले युग सुहाउँदो गतिविधिमा केन्द्रित छ । त्यसैको प्रयास स्वरुप हामीले यो प्रतियोगिता आयोजना गरेका हौँ,” पाण्डेले भने, “यस प्रतियोगितामा खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिबिम्बित गर्ने हाम्रो उदेश्य हो ।’ उनले भने ‘यस प्रतियोगितामा प्रत्येक प्रतियोगी समूहले आफैँले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एक आपसमा भिडाइ उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शनको मूल्यांकन गरिएको थियो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय