काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेष महाधिवेशनको मागले पार्टीमा देखिएको संकटलाई संवादमार्फत समाधान गर्ने उनले बताए ।
शुक्रबार बिहान आफू निकट २५ जना केन्द्रीय सदस्यहरूसँगको भेटमा देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् । केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको मागले पार्टी विभाजनतर्फ जान सक्ने खतरा औंल्याउँदै त्यसलाई रोक्न सभापतिको नेतृत्वदायी भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए ।
भेटमा सहभागी केन्द्रीय सदस्य डा. डिला संग्रौलाका अनुसार, उनीहरूले वार्ता र संवादबाटै पार्टीलाई जोगाउन सभापतिसँग आग्रह गरेका थिए ।
जवाफमा सभापति देउवाले विशेष महाधिवेशन हुन नदिने र त्यसले पार्टी विभाजनतर्फ लैजान सक्ने जोखिमप्रति आफू सजग रहेको स्पष्ट पारेका थिए । “कुनै पनि हालतमा कांग्रेस फुट्न दिन्नँ, संवादबाटै निकास खोज्छु,” देउवाको भनाइ उद्धृत गर्दै संग्रौलाले बताइन् ।





