काठमाडौं । नेपाल प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता गर्न प्रधानमन्त्री सुशीला कार्कीको लिखित आदेश माग गरेको छ। जेन-जी आन्दोलनको घटनाबारे न्यायिक छानबिनका लागि गठित जाँचबुझ आयोगले काम गरिरहेकाले अहिले जाहेरी लिनु मुठभेड निम्त्याउनु सरह हुने प्रहरीको भनाइ छ।
बालुवाटार उच्च स्रोतका अनुसार, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रधानमन्त्रीबाट लिखित आदेश आएमा मात्र जाहेरी लिने बताएका छन्। यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने प्रहरीको अडान छ।
प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, प्रहरी महानिरीक्षक खापुङसहित उच्च सुरक्षा अधिकारीहरूको बालुवाटारमा बैठक बसिरहेको छ। बैठकमा प्रहरीले अहिलेको अवस्थामा कुनै पनि सरकारी निकायले काम गर्न नसक्ने र भोलि मुठभेड भएमा त्यसको जिम्मेवारी कसले लिने भन्ने स्पष्ट आदेश माग गरेको छ।
जेन-जीका नामबाट सुदन गुरुङको टोलीले प्रहरीलाई धम्क्याएपछि बालुवाटारमा सुरक्षा संयन्त्रको गम्भीर बैठक बसेको थियो। काठमाडौं प्रहरी परिसरले आफ्ना सबै वृत्तलाई हाइ अलर्टमा राखेको छ। गुरुङले जाहेरी दर्ता गर्न इन्कार गरेपछि ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै प्रहरीलाई धम्क्याएका थिए।
‘हामी नेपाल’ नामक संस्थाका संस्थापक गुरुङले सामाजिक सञ्जालमार्फत ओलीलाई पक्राउ गर्नुपर्ने अभियान चलाएका छन्। प्रहरीले भने आयोगलाई काम गर्न दिनुपर्ने र अहिले मुलुकलाई मुठभेडमा लैजान नहुने तर्क गरेको छ। गुरुङको टोलीले जाँचबुझ आयोगमा पनि पुगेर ओलीलाई पक्राउ गर्नुपर्ने माग गरेको थियो।
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि जेन-जी अगुवाहरूसँग परामर्श गरिरहेका बेला गुरुङले ओलीलाई पक्राउ गर्नुपर्ने प्रस्ताव राखेका थिए। ६ महिनाभित्र आम निर्वाचन गराउने उद्देश्यले गठित अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले दसैंलगत्तै मन्त्रिपरिषद् गठनको तयारी गरिरहेका बेला गुरुङ समूहले ओलीलाई पक्राउ नगरी चुनावमा जान नसकिने भन्दै अवरोध सिर्जना गरेको स्रोतको दाबी छ।





