
काठमाडौं । तेस्रो त्रैमासिक समीक्षा अवधिमा शिवम् सिमेन्टको नाफा करिब दोब्बर भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म खुद नाफा ४० करोड छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा २० करोड ४२ लाख रुपैयाँ थियो ।
कम्पनीको बिक्री लागत घट्नु, वित्तीय लागत घट्नु तथा कुल खर्चमा आएको कमीले नाफा बढेको देखिन्छ । समीक्षा अवधिमा सञ्चालन आम्दानी ५ अर्ब ९९ करोडबाट ५ अर्ब ३९ करोडमा झरेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७९ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ छ ।
उद्योगमा अघोषित लोडसेडिङ, निर्माण क्षेत्रमा देखिएको शिथिलता कायमै रहेको कम्पनीले विश्लेषण गरेको छ । हाल बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३३ रुपैयाँ छ ।