काठमाडौं । सञ्चित नोक्सानीमा रहेको औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले आज सोमबारदेखि आईपीओ जारी गर्दैछ । कम्पनीले पहिलो चरणमा आजदेखि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेकाले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । १८ लाख कित्ता सेयर सर्वसाधारणमा जारी हुनेछ । वैदेशिक रोजगारमा रहेकाहरूका लागि १ लाख ८० हजार कित्ता सेयर निष्कासन हुने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।
कम्पनीले केयर नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । विभिन्न आयुर्वेदिक औषधि उत्पादन तथा आयात गर्ने, सर्जिकल सामान आयात तथा बिक्री वितरण गर्ने काम कम्पनीले गर्दै आएको छ ।
पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रुपैयाँ छ । चालु आर्थिक वर्ष पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ९८ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १५ पैसा छ । यस आर्थिक वर्ष पनि सञ्चित नोक्सानी कायमै रहने कम्पनीको प्रक्षेपण छ ।