काठमाडौं । यसअघि लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद निष्कासनका क्रममा बिक्री नभएको साधारण सेयर लिलामी बिक्रीमा आएको छ । आज सोमबारदेखि फागुन ५ गतेसम्म इच्छुकले लिलामी सेयर खरिदका लागि बोलकबोल आवेदन दिन सक्नेछन् । कुल ४ लाख ९२ हजार ५७७ कित्ता साधारण सेयर लिलामी बिक्री हुन लागेको हो ।
इच्छुकले एसबीआई मर्चेन्ट बैंकिङको ठमेल कार्यालय तथा उपत्यका बाहिर लाइफ इन्स्योरेन्स कर्पोरेसनका बिराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल र धनगढी शाखाबाट १ सय रुपैयाँ तिरेर फारम लिन र आवेदन दिन सक्नेछन् । न्यूनतम १ सय कित्ताका लागि बोलकबोल आवेदन दिनुपर्ने बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले सार्वजनिक सूचनामार्फत जनाएको छ । ५ लाख रुपैयाँमाथिको आवेदन दिनेले भने प्यान नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
यसअघि कम्पनीले १ बराबर ०.८८ अनुपातका दरले हकप्रद सेयर निष्कासन गरेको थियो ।