स्याङ्जामा १४ वटा शीत भण्डार स्थापना

२०८१ माघ १०, बिहीबार १६:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा । स्याङ्जामा शीत भण्डार स्थापनासँगै उत्पादित कृषिजन्य वस्तुको भण्डारमा सहज भएको छ । कृषिजन्य वस्तु उत्पादन भएकै समयमा मात्रै नभएर अन्य समयका लागि पनि भण्डारण गरेर बिक्री गर्दा राम्रो बजार मुल्य पाउने भएकाले जिल्लाका विभिन्न पालिकामा शीत भण्डार स्थापना गरिएको हो ।

विशेष गरी जिल्लामा धेरैमात्रामा उत्पादन हुने सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारणका लागि शीत भण्डारले सहज भएको हो । स्याङ्जाका एघार स्थानीय तहमध्ये हाल आठ स्थानीय तहमा १४ शीत भण्डार निर्माण भएका कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए । उनका अनुसार विभिन्न क्षमतामा १४ वटा शीत भण्डार निर्माण भएपनि हाल १० वटा सञ्चालनमा रहेका छन् ।

जिल्लामा शीत भण्डार नहुँदाको बखतमा यसअघि भैरहवा, पोखरा लगायतका ठाउँमा रहेका शीत भण्डारमा विशेष गरी सुन्तला, आलु लगायतका कृषिजन्य उत्पादनको भण्डारण गर्नुपर्ने बाध्यता रहेको थियो ।

स्याङ्जाको वालिङ नगरपालिकामा तीन, गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिकामा दुई÷दुई वटा, आँधीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, चापाकोट नगरपालिकामा एक÷एक वटा शीत भण्डार रहेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–११ जैंसीडाँडामा जिल्लामै सबैभन्दा ठूलो क्षमताको स्याङ्जा शीत भण्डार स्थापना भई सञ्चालनमा आएको छ । उक्त शीत भण्डारको क्षमता एक हजार दुई सय मेट्रिकटन रहेको छ ।

जिल्लामा हाल सञ्चालनमा रहेका १० वटा शीत भण्डारमा कुल दुई हजार १०० मेट्रिकटन कृषिजन्य उत्पादन भण्डारण गर्न सकिने उनले बताए ।

“अहिलेको समय जिल्लामा अधिक मात्रामा उत्पादन हुने सुन्तला तथा केहीमात्रामा आलु भण्डारण गरिएको छ” उनले भने,“सुन्तला शीत भण्डारबाट निकालेपछि प्रायःसबैजसोमा आलु भण्डारण हुन्छ ।”

स्याङजामा तयार भएका बीउ आलु भण्डारण गर्न भैरहवा लगायतका ठाउँमा लैजाँदै आएकोमा गाउँमै शीत भण्डार स्थापना भएसँगै सहज भएको गल्याङ ११ जिमुहाँका अगुवा कृषक रुमलाल कडेलले बताए । टाढा लैजानुपर्दा ढुवानी धेरै लाग्ने र समय पनि उत्तिकै धेरै लाग्ने गरेकोमा गाउँमै शीत भण्डार सञ्चालनमा आएपछि लागत कम लाग्ने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय