भाषा, साहित्य, संस्कृति नै हाम्रा गौरव हुन् : राष्ट्रपति पौडेल

२०८१ आश्विन ७, सोमबार १३:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले भरिपुर्ण देश नेपालको गौरव र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक उत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्स, २०८१ को पुरस्कार समर्पण समारोहलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

‘हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवं रैथाने ज्ञान परम्पराको संरक्षण, संवर्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो ।’ उनले भने ।
उनले भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताए ।

‘भाषा मानिसका चाहना, भावना, विचारहरूको विनिमय गर्ने सशक्त माध्यम हो, साहित्य भाषाको सबैभन्दा सुन्दर एवं कलात्मक अभिव्यक्ति हो, साहित्यले भाषालाई श्रुतिमधुर बनाउने काम त गर्छ नै साथसाथै भाषालाई युगौँ युगसम्म जीवित राख्ने काम पनि गर्छ ।’ राष्ट्रपति पौडेलले भने ।

मानिसका ज्ञान, अनुभव, अनुभूति, विचारलाई संरक्षण, सम्प्रेषण र सञ्चरणमा साहित्यको अहम् भूमिका रहेको उनको भनाई छ । ‘साहित्यको यो महत्तालाई कायम राख्न नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो देशको महत्त्वपूर्ण प्राज्ञिक संस्थाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।’ राष्ट्रपति पौडेलले भने ।

नेपालमा बोलिने जुनसुकै मातृभाषाका कविताले पनि महोत्समा सहभागिता जनाउन सकिने व्यवस्था गरी महोत्सवलाई अझ सहभागितामूलक बनाइएको र यसबाट कविहरूको सहभागितामा उल्लेख्य रूपमा बढोत्तरी भएको थाहा पाउँदा खुसी लागेको उनको भनाई छ ।

‘मलाई आशा छ, आगामी वर्षहरूमा नेपालका सबै भाषाका कविता राष्ट्रिय कविता महोत्सवमा सहभागी हुनेछन् र राष्ट्रिय कविता महोत्सव नेपाली कविताको विकासका लागि कोशेढुङ्गा सावित हुनेछ ।’, राष्ट्रपति पौडेलले भने ।

सो अवसरमा राष्ट्रपति पौडेलले विजयी कविहरूलाई पुरस्कार प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय