काठमाडौं । इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी बीच दुई देशको पर्यटन प्रर्वद्धन तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ । नेपाल पर्यटन बोर्डमा शुक्रबार भएको भेटघाटमा दुवै देशको पर्यटन प्रर्वद्धनमा आपसी सहकार्यमा जोड दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त भएको छ ।
भेटमा इन्डोनेसियाका उपमन्त्री नी माडे आयु मार्थिनीले नेपालको कला संस्कृति र सुन्दरताले आफु मोहित भएको बताउँदै नेपालको पर्यटन प्रर्वद्धनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
“नेपाल साच्चिकै सुन्दर देश रहेछ । यहाँको आतिथ्यता र यहाँका मानिहरुको व्यवहारले म साच्चिकै मोहीत भएकी छु । नेपालमा पर्यटनको पर्याप्त सम्भावना देखेकी छु । नेपालको पर्यटन प्रर्वद्धनका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिद्धता व्यक्त गर्दछु । ” उनले भनिन् ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल इन्डोनेशियाबीच सौहार्दपुर्ण सम्बन्ध रहेको उल्लेख गर्दै बोर्ड आपसी सहकार्यका लागि बोर्ड सधैं तयार रहेको बताए । “नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रर्वद्धनको लागि विगतमा पनि सहकार्य थियो । हामी त्यो सहकार्यको निरन्तता चाहन्छौं । जसबाट नेपालको पर्यटन प्रर्वद्धन हुन सकोस । उनले भने ।
उनले दुवै देशको पर्यटन प्रवद्र्धनका लागि बीटुबी गर्न सकिने तथा सिधा र नियमित उडान गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने बताए । सो अवसरमा नेपाल र बंगलादेशका लागि इन्डोनेसियाका राजदूत हेरु हर्तान्नो सुबोलोले इन्डोनेसियाको पर्यटन बोर्ड तथा नेपाल पर्यटन बोर्डबीच सहकार्य गर्नुपर्नेमा जोड दिंदै दुवै देशलाई फाइदा पुग्नेगरी प्रर्वद्धनात्मक कार्यक्रम गर्न सकिने धारणा व्यक्त गरे ।
सो अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा,निमित्त बजार निर्देशक लक्ष्मण गौतम तथा पर्यटन बोर्डका अधिकारी तथा इन्डोनेसियाको राजदुतावासका कर्मचारीहरुको सहभागिता रहेको थियो ।