काठमाडौं । सफल निर्माण व्यवसायी निकोलश पाण्डेले यो देश सरकारले नभई निजामती कर्मचारीले बिगारेको बताएका छन् । बागमती प्रदेश निर्माण व्यवसायी महासंघको चौथो साधारण सभा तथा दोश्रो अधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् ।
‘गतवर्ष हामीले सरकार विरुद्ध बृहत अन्दोलन गर्यौं, विभिन्न पार्टीका नेतालाई पनि गाली गर्यौं तर अहिले मलाई के लाग्छ भने यस्तो गरेर हामीले गल्ति गरेछौं ।’ उनले भने ‘सरकारले कहिल्यैपनि निर्माण व्यवसायीलाई पाखा लगाउन खोजेको छैन । हामीले सरकारलाई दुश्मन मानेका पनि छैनौं हाम्रो असली दुश्मन भनेको निजामती कर्मचारी हुन् । यीनीहरु निलो पाईन्ट र सेतो टिसर्ट लगाएर आउने पढेलेखेका असली गुण्डाहरु हुन् ।’
जुनसुकै काम गर्न पनि निजामती कर्मचारीलाई घुस नदिईकन काम नबन्ने बताउँदै उनले भने ‘ठेक्का लगाउनलाई पैसा दिनुपर्छ, ठेक्का परेपछि साईन गर्न पैसा दिनपर्छ, साईट पोजिशन लिन पैसा दिनुपर्छ, बिल बनाउन पैसा दिनुपर्छ । यीनीहरुले गर्दा साना मझौला मात्रै होईन एकदमै ठुलो निर्माण व्यवसायी पनि पलायन भइसकेका छन् ।’
पाण्डेले सरकारी कर्मचारीलाई यो देशको कुनै माया नभएको बताए । निर्माण व्यवसायीलाई सक्काउने खेलमा सरकारी कर्मचारी नै लागेको उनको आरोप छ ।