महरालाई काठमाडौंतर्फ डाइभर्ट गरिएको हो : रुपन्देही प्रहरी

२०८० चैत्र ५, सोमबार ११:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा भैरहवा हुँदै गृहनगर दाङ हिँडेका थिए । उनी रोल्पामा आयोजना हुने एक कार्यक्रममा सहभागी हुने योजनामा पनि थिए । तर प्रहरीको निगरानीमा रहेका महरा रुपन्देही प्रहरीले कपिलवस्तुको पकडीबाट काठमाडौं फर्काएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले भने,‘महरा सरलाई काठमाडौं फर्काउने केन्द्रको आदेशपछि कपिलवस्तुको सीमाबाट फर्काइएको हो । उहाँ प्रहरीको निगरानीमा हुनुहुन्थ्यो । उहाँलाई काठमाडौंतर्फ डाइभर्ट गरिएको मात्र हो ।’

पूर्वसभामुख समेत रहेका महरालाई विमानबाट काठमाडौं ल्याइँदैछ । त्रिभुवन विमानस्थलबाट उनलाई सोझै प्रहरी हिरासतमा राख्ने प्रहरी स्रोतले जनाएको छ । तर महरालाई कपिलबस्तुबाट नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीम ढकालले नेपाल न्यूज बैंकसँग पुष्टि गरेका छन् । महराले इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप छ ।

६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई उक्त प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सोही अनुसार आवश्यक कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार सुरक्षा संयन्त्रका उच्च अधिकारीसँगको बैठकपछि निर्देशन दिएका थिए । निर्देशन पाएको भोलिपल्टै अर्थात् सोमबार नै महरा पक्राउ परेका छन् । महरा यसअघि सभामुख हुँदा पनि संसद् सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय