नगरभित्रका २२१ विद्यार्थीलाई गल्याङ नगरपालिकाले निःशुल्क पढाउँदै

२०७९ माघ २६, बिहीबार ०६:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने भएको छ । नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिव, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो ।

नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले बताए । नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने अतिविपन्न, गरिब तथाजेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत जनही रु १० हजार आठ सय प्रदान गरेको हो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई मासिक रु तीन सयका दरले वर्षभरिको रु तीन हजार छ सय उपलब्ध गराइएको उनले बताए ।

पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमामात्रै अघिल्लो कक्षा अध्ययनका लागि पुनः छात्रवृत्ति प्राप्त गर्नेछन् । अनुत्तीर्ण भएकाले भने उक्त सुविधा अघिल्लो कक्षामा नपाउने उनको भनाई छ ।आर्थिक अभावकै कारण कोही पनि शिक्षा प्राप्त गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित नगरपालिकाले यो अभियान थालेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । नगरको शैक्षिक रुपान्तरणका लागि यस अभियानले विद्यार्थीमा अध्ययनतर्फ थप प्रोत्साहन मिल्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय