काठमाडौं । उद्योगी व्यवसायीका समस्याप्रति राज्य समयमै गम्भीर नहुँदा व्यवसायीहरू आत्मदाह, आत्महत्या जस्ता अत्यन्त दुःखद एवं गम्भीर प्रकृतिका घटनाहरूतर्फ लागेकोप्रति नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
‘नयाँ सरकार गठन भई अर्थतन्त्रले गति लिने आशा गरिएकै बखत सार्वजनिक भइरहेका यस्ता घटनाले निर्माणसहित सबैखाले उद्योगमा लागेका व्यवसायीहरूसहित देश विदेशमा रहेका तमाम नेपालीहरूलाई मर्माहत बनाएको छ’, महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
स्वदेशभित्र नै उद्यम एवं व्यवसाय गरी आत्मसम्मानसाथ जीवन निर्वाह गर्न चाहने व्यवसायीहरूले परिबन्धमा परी बाध्यताबस मृत्युवरण गर्दा राज्य, राज्यका सञ्चालक र नीति तथा नियम परिपालना गराउने निकायहरूमाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको महसुस महासंघले गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘अन्य व्यवसायीरू झैं निर्माण व्यवसायीहरू पनि राज्यबाट निर्माण सम्पन्न परियोजनाहरूको भुक्तानी वर्षौंदेखि नपाउँदा मानसिक रुपमा अत्यन्त प्रताडितमात्र भएका छैनन्, ‘सप्लाई चेन’ हरू समेत अस्तव्यस्त भएका छन्’, विज्ञप्तिमा उल्लेख छ ।
यसबाहेक निर्माण व्यवसायीहरूले मूल्यवृद्धि, तरलता अभाव, राष्ट्र बैंकको अस्थिर तथा अव्यवहारिक नीति नियम, क्रसर सञ्चालनमा देखिएको अवरोध, नीतिगत अस्पष्टता, राज्यका संयन्त्रबीचको समन्वय अभाव जस्ता ज्वलन्त समस्या झेलिरहेको महासंघको भनाइ छ ।
यी र यस्ता नीतिगत पक्षहरूको तत्काल सम्बोधन नहुने हो भने समग्र अर्थतन्त्रको चक्रमा गम्भीर असर परी आगामी दिनमा अझ दुःखद घटनाहरू हुन सक्ने खतरा देखिएकोतर्फ महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । यस्ता दुःखद घटनाबाट वेलैमा शिक्षा लिएर संविधान प्रदत्त गरी खान पाउने अधिकार सुनिश्चित गर्न र व्यवसायीलाई आफ्नो कारोबार निर्धक्क गर्ने वातावरण सिर्जना गरिदिन महासंघले सरोकारवाला सबैसमक्ष अपील गरेको छ ।