‘भ्वाइस किड्स सिजन-२’ को प्रिमियर, आजदेखि शो प्रसारण सुरु हुँदै

२०७९ फाल्गुन २६, शुक्रबार ०७:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन-२’ को प्रसारण आज(शुक्रबार)देखि सुरु हुँदैछ । पूर्वसन्ध्यामा बानेश्वरस्थित वान सिनेमाज् हलमा पहिलो एपिसोडलाई प्रिमियर गरियो ।

निर्देशक लक्ष्मण पौडेल, कोच प्रमोद खरेल र प्रस्तोता सुशिल नेपाल प्रिमियरमा उपस्थित रहे । ‘पहिलेभन्दा सिजन २ लाई बेटर गर्ने प्रयास गर्छौं । पहिलो सिजन अनुभव पनि थियो’ खरेलले बताए । प्रस्तोता नेपालले पहिलो सिजन सिकाइ रहेको बताउँदै दोस्रो सिजनमा अझै राम्रो गर्ने बताए । यसपटकको सिजनमा सुशान्त केसी कोचको रुपमा भित्रिएका छन् । प्रमोदसहित प्रविशा अधिकारी र मिलन नेवार कोचको रुपमा निरन्तर हुनेछन् ।

कार्यक्रम हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ । निर्देशक पौडेलका अनुसार पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’सम्मका एपिसोड प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्ने जनाइएको छ । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाले अघि बढ्ने मौका पाउनेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

टाइटल स्पोन्सरमा ‘रियल फुट जुस’ रहेको छ । यस्तै पावर्ड बाई स्पोन्सरमा लाइफब्वाय र अलआउट अनुबन्ध भएका छन् भने को–स्पोन्सरमा वात्सल्य नेचुरल आईभीएफ रहेका छन् । हिमालय टेलिभिजनले चर्चित रियालिटी शोहरुलाई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । जसमा द भ्वाइस अफ नेपाल, डान्सिङ स्टार नेपाल र हिमालय रोडिज छन् । बिजनेस रियालिटी शो सार्क ट्यांक र फेसन रियालिटी शो नेपाल्स नेक्स्ट टप मोडल यसै वर्षभित्र प्रसारण सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार