काठमाडौं । विद्यार्थी राजनीतिबाट खारिएका युवा नेता वीरेन्द्र गिरी नेपाली कांग्रेस बाजुरा-काठमाडौँ सम्पर्क समितिको सभापतिमा चयन भएका छन् । जुझारु र लगनशील नेताका रूपमा परिचित गिरीलाई पार्टीले काठमाडौंमा रहेका बाजुराका कांग्रेस कार्यकर्ताहरूलाई संगठित गर्ने महत्वपूर्ण जिम्मेवारी दिएको हो ।
गिरीको राजनीतिक यात्रा २०६३ सालमा त्रिचन्द्र क्याम्पसबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाइ सदस्यका रूपमा सुरु भएको थियो । त्यसयता उनले संगठनको आधार तहदेखि केन्द्रीय तहसम्म विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । २०६७ सालमा सुदूरपश्चिम विद्यार्थी समाजको अध्यक्ष बनेका उनी २०६८ सालमा पार्टीको क्रियाशील सदस्य बनेका थिए ।
त्रिचन्द्र क्याम्पसमा नेविसंघको इकाइ सह-सचिव हुँदै उनी २०७३ सालमा नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । १६ वर्षपछि त्रिचन्द्र क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनमा नेविसंघका तर्फबाट चुनावी संयोजकको भूमिकामा रहेर उनले निर्वाचन सफल बनाउन निर्णायक भूमिका खेलेका थिए ।
विद्यार्थी राजनीतिमा लामो र परिपक्व अनुभव बटुलेपछि उनी पार्टीको मूलधारको राजनीतिमा सक्रिय थिए । यसअघि नेपाल तरुण दलको केन्द्रीय समिति गठनका क्रममा ४०० सदस्यीय जम्बो समितिमा समेत उनी नअटाउँदा उनको योगदानको अवमूल्यन भएको भन्दै पार्टी पंक्तिमा आलोचना भएको थियो ।
अहिले सम्पर्क समितिको सभापतिमा उनको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनको नियुक्तिलाई स्वागत गर्दै नेपाली कांग्रेस बाजुराका जिल्ला सभापति रामसिंह रावलले “एक सच्चा सिपाहीलाई न्याय भएको र युवाले अवसर पाएको” भन्दै प्रशंसा गरेका छन् ।
नयाँ जिम्मेवारीसँगै गिरीलाई काठमाडौंमा छरिएर रहेका बाजुराका कांग्रेस कार्यकर्ताहरूलाई एकताबद्ध गर्दै संगठनलाई थप गतिशील र बलियो बनाउने चुनौती र अवसर दुवै छ । संगठनका एक दृढ योद्धाका रूपमा चिनिने गिरीको यो नयाँ यात्रालाई सुदूरपश्चिमको कांग्रेस वृत्तमा उत्साह र चासोका साथ हेरिएको छ ।





