छरुवा प्रविधि मार्फत धान खेती गरिँदै

२०७९ फाल्गुन २२, सोमबार ०६:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बनियानी । धान उत्पादनमा लागत घटाउन छरुवा प्रविधिबाट धान खेतीको परीक्षणखेती गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले जिल्लाका केही स्थानमा ‘ड्रम सिडर’ मेसिनको प्रयोग गरी छरुवा प्रविधिबाट धानबालीको परीक्षण खेती थालेको हो ।

गौरादह गाउँपालिका दुई र कमल गाउँपालिकाको एक स्थानमा परीक्षण खेती गरिएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । “धान उत्पादनमा केही भए पनि लागत घटाउने उद्देश्यले प्रविधिको प्रयोग गरेर परीक्षण खेती सुरु गरेका छौँ”, उनले भने, “परिणाम कस्तो आउँछ? त्यो हेर्न बाँकी छ ।” अहिलेकै अवस्था हुने हो भने कृषकले धानखेती गर्न छाड्ने उनको भनाइ छ । उत्पादनमा उच्च लगानी र मूल्य नपाउँदा किसानले आफूले खाने मात्र धान उत्पादन गर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।

छरुवा धान खेतीको प्रविधिबाट किसानको ब्याड बनाउने, बीउ उखेल्ने र रोप्ने खर्च बच्ने जनाएको छ । यो प्रविधिबाट खेत हिल्याएर ‘ड्रम सिडर’ मेसिनको प्रयोगबाट सोझै धान छर्न सकिने प्रमुख विष्टले बताए । अहिले परीक्षण खेतीमा धान उम्रिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार