गलेश्वर । लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन् ।
बेनी नगरपालिका-२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयदेखिको खडेरीका कारण गहुँबाली सुकेको बताए । ‘खडेरीका कारण गहुँबाली सुकेको छ भने खेत बाँझै छन्, पानी नपर्दा बाँझो जमिनमा मकै रोप्नसमेत ढिलाइ भएको छ’, उनले भने। गहुँबाली सुकेपछि यहाँका किसान चिन्तित छन् । सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरुले बताएका छन् । सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको पुलाचौरका किसान टेकबहादुर विकले बताए। उनले भने ‘खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ । अझै पानी पर्ने छाँटकाँट छैन् । यो वर्ष भोकमरी हुने सम्भावना बढेको छ ।’
खडेरीले गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको मालिका गाउँपालिका–५ का किसान डेकबहादुर बूढाले बताए। खडेरीका कारण जनजीवन प्रभावित भएको उनको भनाइ छ । सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको उनले बताए । हिमपात हुने समयमा पानी नपरेपछि बालीनाली हुर्कन नपाइ सक्दै गएको किसानको भनाइ छ । बर्खेबालीमध्येको मकैमा जङ्गली जनावरले क्षति पुर्याउँदा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ । हिउँदमा खडेरीका कारण उत्पादनमा कमी आउने तथा वर्षामा जङ्गली जनावरले क्षति पुर्याउने गरेको किसानहरू बताउँछन् ।
यसरी उत्पादन घट्दै गएपछि खाद्यान्न आयातमा वृद्धि हुने उनीहरूको भनाइ छ । म्याग्दीमा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार चार सय ९८ हेक्टर जमिनमा खेती हुँदै आएको छ । खेती गरिएकोमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन छ । एक हजार छ सय ८० हेक्टरमा बाह्रैमहिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ । यसवर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् ।
अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीन पटक हिमपात भएको थियो । यसवर्ष फागुन अन्तिमसातासम्म पनि हिमपात र वर्षा हुन सकेको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । सिँचाइको अभावले गहुँ, जौँलगायत हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका(२ लमसुङका पलु पुनले बताए । ‘यो समयमा गत वर्ष तीन पटक हिमपात भएको थियो, तर यस वर्ष अहिलेसम्म हिमपात भएको छैन, गत असोजयता वर्षा समेत भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन्’, उनले भने ।
खेतमा लगाएको गहुँ, जौंँसँगै तरकारी खेतीमा समेत सिँचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका–७ ताकमका स्थानीय दीपक सुवेदीले बताए। यहाँका किसान सिँचाइका लागि हिमपात र वर्षाको पर्खाइमा छन् । हिमपात नहुँदा हिउँदे बालीमा सिँचाइको अभाव भएपछि अन्नबालीको उब्जनी घट्ने सम्भावना बढेको मुनाका किसान थमबहादुर घर्तीको भनाइ छ । समयमै हिउँ नपर्दा पानीका मूल सुक्ने, असिनापर्ने र त्यसले बालीनालीमा क्षति पुर्याउने भएकाले यहाँका किसान हिमपातको पर्खाइमा छन् ।
हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमालमा हिउँ पग्लिन थालेको छ । पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यसवर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ । हिउँ पग्लिएपछि हिमाल नागिँदै गएका छन् । पछिल्लो वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ । मौसम फेरिएर पुस(माघमा हिउँ नपर्ने र फागुन-चैतमा हिउँ पर्ने गरेको स्थानीय बताउँछन् ।
हिउँ नपरेपछि धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेलगायत हिमाल रङ उडेझैं फिक्का देखिन थालेका छन् । मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाड जस्ता देखिन थालेको र जङ्गली फूलहरूमासमेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टेन डमबहादुर पुनले जानकारी दिए ।